नेपालमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिप्रति गैरआवासीय नेपाली संघको वक्तव्य
ऐतिहासिक जनआन्दोलनको सफलतापछि राजनैतिक सहमतिको वातावरणमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नेपाल शान्त, समृद्ध र लोकतान्त्रिक नयाँ युग तर्फ उन्मुख भएको गैरआवासीय नेपाली संघले विश्वास गरेको हो। यस निर्वाचन पछि सवै वर्गका नेपाली जनतासँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने एउटा अवसर आएको विश्वास गर्ने आधारहरु छन् । यसै आधारमा विश्वभरि छरिएर रहेका नेपालीहरुले आफू मत हाल्ने अवसरबाट वञ्चित हुँदा पनि संविधानसभाको निर्वाचनलाई हृदयदेखि नै स्वागत गरेको कुरा सवैमा विदीतै छ । त्यसै अनुरुप देशको सर्वांङ्गीण विकासलाई मद्दत पुग्ने किसिमको र मानव अधिकार एवं प्रजातन्त्रको विश्वव्यापी मूल्य-मान्यतालाई आत्मसाथ गर्ने संविधान निर्माणकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता गैरआवासीय नेपाली संघले गर्दै आएको हो ।
तर राजनैतिक सहमतिको वातावरणमा लोकतान्त्रिक संविधान निर्माण र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने वर्तमान समयको आवश्यकता विपरित दलहरु बिच बढ्दै गएको असमझदारी तथा देशमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिले हामीलाई अत्यन्त दुखी तुल्याएको छ। उद्योगधंदा बंद हुने क्रममा छन् ; कानुनी उपचार खोज्नुको सट्टा हिंसात्मक गतिविधिद्वारा उद्योग-व्यवसायमा हस्तक्षेप गर्ने र व्यवसायीहरुको हत्या समेत गर्ने जस्ता गैरकानुनी क्रियाकलापमा बृद्धि भएकोछ; कर्मचारीहरुको लगातार हत्या हुनु, सरकारी र निजी सम्पत्तिमाथि बलपूर्वक कब्जा गर्ने क्रम नरोकिनु, राष्ट्रिय र व्यक्तिगत सम्पत्तिको तोडफोड र आगजनी भइरहनु, राजमार्गहरु सुचारुरुपमा सञ्चालन हुन नसक्नु, संचारगृहहरुमा लगातार हिंसात्मक आक्रमण हुनु, समाचार पत्रहरु जलाइनु, पत्रिका प्रकाशनमा अवरोध खडा गरिनु र संविधानसभाको निर्वाचन पछि पनि पत्रकारहरुमाथि घातक हमला र हत्या हुनुले नेपाली जनताको संविधानप्रदत्त निर्वाध सुचनाको हकलाई कुण्ठित गर्ने योजनावद्ध प्रयास नै शुरू भएको हो की भन्ने आशंका उत्पन्न भएकोछ । यसलाई संक्रमणकालको स्वभाविकता मानेर दण्डहीनताको संस्कृतिको अन्त्य तर्फ दृढ कदम चाल्न नसकिएमा नेपाली जनताको ठूलो बलिदानले प्राप्त राजनैतिक
उपलव्धीहरु समाप्त भई मुलुक अराजकता र असफलतातिर उन्मुख हुनेछ ।
हाम्रा राजनैतिक उपलव्धीहरुको स्थायीत्वकालागि द्रुततर आर्थिक विकास अपरिहार्य छ। नेपालको विकासमा वैदेशिक लगानी र सहयोगको आवश्यकतालाई कसैले नकार्न सक्दैन । तर निरन्तर जटिल हुँदै गएको आर्थिक संकटले ग्रस्त वर्तमान विश्वमा कानुनी राज्यको प्रत्याभूति दिन सक्षम मुलुकले मात्र आर्थिक लगानी आकर्षित गर्न सक्छन् । नेपालमा राजनैतिक स्थायित्व र विधिको शासन छ, मानव अधिकारको सम्मान हुन्छ, विचारको पूर्ण स्वतन्त्रता र शान्ति-सुरक्षाको ग्यारेन्टी छ भन्ने कुराको संदेश वाह्य विश्वमा गएमा मात्र नेपालको आर्थिक रुपान्तरणकालागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन सकिन्छ ।
यिनै कुराहरुलाई मनन गरी गैरआवासीय नेपाली संघ नेपालका सबै पक्षलाई विधिसम्मत तरिका बाट आफूलाई संचालन गर्न र आफ्नो काम कारवाहीले अर्काको मौलिक अधिकारको हनन् नगर्न आह्वान गर्दछ । सबैको आफ्नो विचार राख्ने, प्रचार प्रसार गर्ने अधिकारमा हामी विश्वास गर्दछौं । नेपाल सरकार, सबै राजनैतिक दलहरु, दलसँग आवद्ध भएका र नभएका सबै समूहलाई विधि अनुसार चल्न
र भएका मतभेद विधिपूर्वक नै हल गर्न हार्दिक अपिल गर्दै कानुन सम्मत काम नगर्ने र अरुको अधिकार कुण्ठित गर्ने जो कोही माथि पनि कडा कारवाही गर्न हामी सरकारसँग आग्रह गर्दछौं।
गैरआवासीय नेपाली संघ सधैं लोकतन्त्र, मानवअधिकारका विश्वव्यापी मान्यताहरु, नेपालको राष्ट्रिय एकता र सर्वांङ्गीण बिकासप्रति प्रतिवद्ध रहेको दोहोर्याउँदै सहमतिको आधारमा सबै समस्या समाधान गर्न सबै पक्षलाई पुन: आग्रह गर्दछौं । यसकालागि सक्दो सहयोग गर्न हामी जहिलेपनि तत्पर रहेको समेत यहाँ दोहोर्याउन चाहान्छौं ।
गैरआवासीय नेपाली संघ
मितिः २०६५ पौष १९