माअोवादीको शिविरमा रहेका बालबालिका रिहा गर्न आग्रह
बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरूका महासङ्घ र बालअधिकार निगरानी समूहले संयुक्तरूपमा नेकपा (माओवादी)को लडाकु रहेका अस्थायी शिविरमा राखिएका बालबालिकाको तत्काल रिहाई र पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)ले माओवादी लडाकुहरूको प्रमाणीकरणका क्रममा विभिन्न शिविरमा दुइ हजार ९७३ जना बालबालिका रहेको बताए पनि उनीहरूलाई शिविरबाट बाहिर ल्याउन पहल नभएको भन्दै ती संस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा शिविरमा राखिएका बालबालिकाको विनार्सत तत्काल रिहाईका लागि पहल गर्न आयोगसमक्ष माग गरिएको छ ।
बालबालिकालाई सैनिक शिविरमा राखिनु बालअधिकारसम्बन्धी राष्ट्रिय एवम् अन्तरराष्ट्रिय प्रावधानविपरीत भएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले आयोगका तर्फबाट छिट्टै माओवादी सेना रहेका शिविरको अनुगमन थालिने र बालबालिकालाई शिविरबाट बाहिर ल्याउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोगका सदस्य एवम् प्रवक्ता गौरी प्रधानले बालबालिकालाई सैन्य शिविरमा राखिनु भनेको गम्भीर प्रकृतिको बालअधिकार हनन भएकाले उनीहरूलाई शिविरबाट बाहिर ल्याई समाजमा पुनःस्थापना गराउने कार्यमा आयोगले गम्भीरतापूर्वक काम गर्ने बताउनुभयो
साभार : एचकेनेपाल डट कम, पौष २८ २०६४