प्रधानमन्त्रीले हेरे कुमारी रथयात्रा
काठमाडौँ, इन्द्रजात्राको दोस्रो दिन आज उपत्यकामा कुमारीको रथयात्रा भएको छ । काठमाडौँको वसन्तपुरमा भएको कुमारी रथयात्राको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अवलोकन गरेका छन् । यसअघि राजाले जात्राको अवलोकन गर्ने परम्परा रहिआएको थियो ।
लोकतन्त्रपछि राजाको अधिकार कटौति गरिएपछि यसवर्षप्रधानमन्त्री कोइरालाले जात्राको अवलोकन गरेका हुन् । जात्राको अवलोकन गर्न प्रधानमन्त्री कोइराला वसन्तपुर पुगेका थिए ।
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा कुमारी घरको निर्माण गर्न लगाई कुमारी जात्रा सुरु गरेपछि इन्द्रजात्रा मनाउन लागिएको संस्कृविद्हरुको भनाइ छ । जयप्रकाश मल्लले इन्द्रोत्सवदेखि कुमारी रथजात्रा सुरु गरेका थिए ।
परम्पराअनुसार ३२ हात अग्लो लिङ्गो ठड्याउने परम्परा भए पनि यसपाली ४२ हातको लिङ्गो राखिएको छ । सोमबारदेखि सुरु भएको इन्द्रजात्रा एक सातासम्म मनाइन्छ ।
साभार : ई-नशा, असोज ९ २०६४